काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन्।
राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका ५ विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन्।
यी हुन् प्रमाणीकरण गरेका विधेयक:
१. तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
२. स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक
३. प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
४. सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
५. योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
गरिनन् नागरिकता विधेयक प्रमाणीकरण
५ वटा विधेयक प्रमाणीकरण गरेकी राष्ट्रपति भण्डारीले विवादित र चर्चामा रहेको नागरिकता विधेयक भने प्रमाणीकरण गरेकी छैनन्।
नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि अहिले राष्ट्रपति समक्ष पुगेको छ।
प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकबाट पारित गरी सभामुखबाट प्रमाणित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकतासम्बन्धी विधेयक गत साउन २९ गते आठ बुँदे सन्देशसहित राष्ट्रपति कार्यालयबाट अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनःविचार गरियोस् भनी सदनमा फिर्ता पठाइएको थियो।
सन्देशसहित फिर्ता आएको विधेयकलाई सरकार र सदनले स्वभाविकरुपमा लिई प्रतिनिधिसभा, राष्ट्रियसभा र विधायन समितिमा आवश्यक छलफलपछि पुनःपारित गरी राष्ट्रपति समक्ष दोस्रोपटक भदौ २० गते प्रमाणीकरणका लागि पठाइएको थियो।
राष्ट्रपतिले विधेयकका सम्बन्धमा उठेका विभिन्न प्रश्नका बारेमा समाजका विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग राय परामर्श लिइरहेकी छन्।
संघीय संसद्बाट दोस्रोपटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ। नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसँग अब सात दिनको समय छ।
पहिलोपटक फिर्ता पठाएकी भण्डारीले दोस्रोपटक नागरिकता विधेयक के गर्लिन भन्ने चासो सर्वत्र छ।