काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताएका छन्।
बुधवार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरममा प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताएका हुन्।
प्रधानमन्त्री देउवाले भने, ‘नेपाललाई २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गरी आर्थिक विकासमा सुधार गर्ने योजना रहेको छ। मुलुकमा पूर्वाधार विकास गर्न निजी क्षेत्रको लगानी महत्त्वपूर्ण रहन्छ भने वैदेशिक लगानी पनि आवश्यक भएकाले सबैलाई लगानी गर्न आग्रह छ।’
उनले वर्तमान सरकारले १५औँ पञ्चवर्षीय योजना अनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताए। सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय नीति तथा योजना रहेको छ।
दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री देउवाले त्यसका लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोगको आवश्यकता रहेको औँल्याए।
उनले मुलुकमा पूर्वाधार विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्नुहुँदै लगानी बढाउन आग्रह गरे।