काठमाडौँ । पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म नौ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन यता नौ जनाको डेंगुले मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार दुई हप्तामा छ हजार ४७२ जनामा डेंगु पुष्टि भएको छ।
प्रवक्ता डा. ठाकुरका अनुसार सबै भन्दा बढी १० जिल्लाबाट पाँच हजार ४०३ जनामा डेंगु पुष्टि भएको छ। योसँगै हालसम्म ७५ जिल्लाबाट ११ हजार ६५ जनामा डेंगु पुष्टि भएको डा. ठाकुरले जानकारी दिए।
डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा आठ हजार ३९० जनामा भएको छ। यस्तै, लुम्बिनीमा एक हजार ४२१, प्रदेश १ मा ३४६, सुदूरपश्चिममा ३२३, गण्डकीमा २२४, मधेश प्रदेशमा १९८ र कर्णाली प्रदेशमा १६२ जनामा डेंगु पुष्टि भएको छ।
जिल्लाअन्तर्गत सबैभन्दा बढी ललितपुर तीन हजार ७९३, काठमाडौंमा २५ सय ६९, मकवानपुरमा ११ सय १२, रुपन्देहीमा ५९८, दाङमा ३७८, भक्तपुरमा २२०, धादिङमा १४०, तेह्रथुममा ११२ काभ्रेमा ११२ र चितवनमा १७८ गरी १० जिल्लामा सबै भन्दा बढी नौ हजार २२६ जनामा डेंगु पुष्टि भएको छ।