धनगढी । चार दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिन थालेको छ । भोकभोकै अनसन लम्बिदैं जाँदा उनको स्वास्थ्यमा समस्या देखिन थालेको हो ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै केसी धनगढीमा अनसनरत छन् । सोमबारदेखि अनसन थालेको उनको बिहीबार चार दिन पुगेको छ ।
चार दिनदेखि उनले पानी बाहेक मुखबाट केही नखाएकाले स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकले बताएका छन् । डा. केसीलाई हेरिरहेका भएका सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा. शेरबहादुर कमरका अनुसार लगातार चारदिनदेखि भोकै रहेका केसीको कमजोरीपन बढ्दै गएको छ ।
रगतको जाँच गर्दा कडा खाले सुगरको मात्रा कम देखिएको छ । यसैगरी, मांसपेशी दुख्ने, थकाई, रिंगटा लाग्ने जस्ता समस्या देखिएका छन् । यद्यपि, जीवनको सूचक मानिने रक्तचाप, मुटुको धड्कन, फोक्सोमा खासै समस्या नरहेको डा। कमरले बताए । डा. केसीलाई अहिले बोल्दा झर्किने, रिसाए जस्तो गर्ने समस्या पनि देखिएको डा. कमरको भनाइ छ ।
विभिन्न सात बुँदै माग राख्दै सत्याग्रही केसीले सोमबारदेखि धनगढी उपमहानगरपालिका–१ एलएन चौकस्थित कृष्ण मन्दिरको धर्मशालामा आफ्नो २० औं सत्याग्रह थालेका थिए । तर, तेस्रो दिनबाट स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको छ । अस्पतालको क्याबिनमा रहेका उनले औषधि उपचार भने गराउन नमानेको डा. कमरले बताए । डा। केसीले मुखबाट पानी बाहेक केही पनि खान नमानेको कमरको भनाइ छ ।
अनसनरत डा.केसीले उठाएको माग पूरा गर्नका लागि सरकारले भने कुनै किसिमको प्रतिक्रिया जनाएको छैन ।