काठमाडौँ । दसैं–तिहार र छठमा अधिकतम खपत हुने वस्तु हुन्, चिनी र घिउ । तर यिनै वस्तु नराखी सरकारले असोज १ देखि कात्तिक १५ सम्म सुपथ मूल्य पसल सञ्चालन गर्दै छ ।
यी पसलबाट चिनी, घिउलगायत खाद्यान्न वस्तुमा छुट दिने निर्णय भइसकेको छ । तर, शनिबारदेखि सञ्चालनमा आउने छुट पसलमा चिनी र घिउ छैनन् ।
चाडबाडमा सहुलियत दरमा चिनी मुख्यतस् साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्छन् । घिउको हकमा दुग्ध विकास संस्थान (डीडीसी)ले छुट दिने गर्छ । तर, यी निकायसँग चिनी र घिउ मौज्दात छैन ।
सहुलियत चिनी आयात गर्न आपूर्ति मन्त्रालयले जेठ २४ मा अर्थमा पत्र पठाएको थियो । पत्रमा साल्टका लागि ४० हजार टन र खाद्य कम्पनीका लागि १० हजार टन आयात सहमति मागिएको थियो । तर, अर्थले सहमति दिएन, जसकारण साल्ट र खाद्यका गोदाम रित्तै भएका हुन् ।
चिनीबाहेक अन्य खाद्यान्नमा प्रतिकिलोरलिटर १० रुपैयाँसम्म छुट दिइएको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेश झाले जनाए । साल्टले ४२ कार्यालयमा रहेका आउटलेटबाट छुट दिने उनको भनाइ छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि ४१ जिल्लामा रहेका बिक्री केन्द्ररआउटलेटबाट छुट दिने निर्णय गरेको छ । विभिन्न ब्रान्डका चामल, दाल, चिउरा, नुन, तेल, आँटा र गेडागुडीमा छुट भए पनि चिनी बिक्री नहुने कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले बताए ।
बजारमा दूध संकलनमा कमी आउँदा घिउ अभाव भएको डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए ।डीडीसीले चाडपर्वका अवसरमा घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने जनाएको छ । तर यी वस्तुको उत्पादन पर्याप्त छैन ।
खाद्य कम्पनीले घटस्थापनादेखि खसीबोका भित्र्याउने जनाएको छ । घटस्थापनाको भोलिपल्टदेखि खसीबोका बिक्री गरिने थापाको भनाइ छ । खाद्यले यस वर्ष करिब १८ सय खसीबोका किन्ने योजना बनाएको छ । च्यांग्रा पनि करिब ५ सय ल्याएर बिक्री गर्ने थापाले जानकारी दिए । च्यांग्रा मुस्ताङबाट सम्भव नभएपछि दार्चुलाबाट ल्याउने तयारी भइरहेको छ ।