काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन आज (शनिबार) बुझाउने भएको छ।
सिंहदरबारस्थित शुक्रबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरू साधेर प्रतिवेदनलाई अन्तिम रूप दिने काम गरिएको र प्रतिवेदन आज बुझाउने तयारी भएको सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।
संसद् आज (असोज) १ गते राति १२ बजे सकिने भएकाले समितिले आज नै संसद्मा प्रतिवेदन बुझाउने तयारी गरेको हो।
समितिले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई बयानका क्रममा आएको सवालमा प्रश्न गर्नका लागि बोलाउने निर्णय गरे पनि सर्वोच्च अदालतका न्यायाधीश शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जान नमिल्ने र पूर्वप्रधानन्यायाधीशहरुले पनि आफूहरू जान नमिल्ने पत्र समितिलाई पठाएपछि समितिले वरिष्ठ अधिवक्ता र अधिवक्तासँग मात्र बयान लिएको हो।
जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए।