धनगढी। अविरल वर्षाका कारण कैलालीको भजनी नगरपालिका क्षेत्रका ६ सय भन्दा बढी घर डुबानमा परेका छन्।
वर्षासँगै आएको बाढीले भजनी नगरपालिकाको वडा नं ५, ७ र ८ का करिब ६ सय ५० घर डुबानमा परेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित बस्तीमा प्रहरी टोली परिचालन गरिएको डिएसपी वेद जोशीले बताए। नगरपालिका क्षेत्रमा पर्ने कान्द्रा र पथरैया नदीमा बाढीको सतह बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ।
भिमदत्त राजमार्ग अवरुद्ध
लगातारको वर्षासँगै पहिरो खसेपछि धनगढी डडेल्धुरा भिमदत्त राजमार्ग बिहानैदेखि अवरुद्ध भएको छ।
राजमार्ग अन्तरगत पर्ने कैलालीको चुरे गाउँपालिका वडा नं. ५ र ६ स्थित विभिन्न ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदा झण्डै एक दर्जन सवारी साधन बिचमै रोकिएका छन्। राजमार्ग खुलाउने पहल भइरहेको डिएसपी वेद जोशीले बताए।
यसैबीच कैलालीमा लगातार वर्षा भइरहेको छ। वर्षाका कारण धनगढीसहित अधिका क्षेत्र जलमग्न भएका छन्। वर्षाका कारण जिल्लाको दक्षिणपूर्वी क्षेत्रको जनजीवन सबैभन्दा प्रभावित भएको छ।
मोहना, कर्णाली, कान्द्रा, काडालगायतका ठुला साना नदीमा जलस्तर बढ्दै गएको बताइएको छ।