काठमाडौं। सरकारले नेपालीको महान चाड बडादसैँ, तिहार र छठका उपलक्ष्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राजधानी काठमाडौं उपत्यकासहित देशभर सुपथ पसल सञ्चालनमा ल्याएको हो। कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट दशैं, तिहार र छठ लक्षित सहुलियत पसल सञ्चालन गरिएको छ।
उक्त सुपथ मूल्य पसलको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चाडपर्वका बेला हुनसक्ने महँगी र कालोबजारी नियन्त्रण गरी केही हदसम्म भए पनि जनतालाई सहुलियत दिने उद्देश्यका साथ सुपथ पसल सञ्चालन गरिएको बताए।
त्यस्तै दुग्ध विकास संस्थानले पनि सुपथ मूल्य पसल सञ्चालन गर्नेछ।
४५ स्थानमा सुपथ पसल
राजधानी काठमाडौंसहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ पसल एकैपटक सञ्चालनमा ल्याइएको छ। काठमाडौंको थापाथली, रामसाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्यविनायकमा सुपथ पसल सञ्चालन गरिएको छ।
आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुने सुपथ पसलमा विभिन्न ३० प्रकारका खाद्यवस्तु बिक्रीका लागि राखिएको छ। प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ। सुपथ पसलमा मासुजन्य वस्तुमा रु १० तथा खाद्यान्य सामग्री र तेलमा रु सात छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यी खाद्यवस्तुमा छुट पाइन्छ
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसहितको सहभागितामा सञ्चालन हुने सुपथ पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घ्यु, खसी बोका र च्याङ्ग्रालगायत बिक्रीमा हुनेछन्।
सुपथ मूल्य पसलमा चामल, दाल, आटा, मैदा, चिउरा र खाने तेलमा प्रतिकिलो तथा प्रतिलिटरमा रु सात छुट पाइनेछ। कर्णाली सिमी तथा गेडागुडीमा प्रतिकिलो रु १०, जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो रु १० छुट पाइने कम्पनीले जनाएको छ। नुन किलोमा रु दुई, घिउ किलोमा रु ६० र पनिर तथा चिजमा प्रतिकिलो रु २० छुट पाइनेछ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा एकाधिकार तोड्दै मूल्य नियन्त्रण गर्न खसीबोका र च्याङ्ग्रा खरिद तथा बिक्री गरिने जनाएको छ। कम्पनीका विभागीय प्रमुख भेषनाथ न्यौपानेका अनुसार दसैँलक्षित कार्यक्रमअन्तर्गत यो वर्ष दार्चुलाबाट च्याङ्ग्रा खरिद गरेर बिक्री गरिनेछ। बजार मूल्यलाई सन्तुलन कायम गर्न खसी च्याङ्ग्राको व्यवस्था गर्न लागिएको हो।
कम्पनीले यो वर्ष चार सय च्याङ्ग्रा ल्याउनेछ। निजी व्यापारीले पनि च्याङ्ग्रा बिक्री गर्नेछन्। त्यस्तै खसीबोका दुई हजार खरिद बिक्री गरिनेछ। वीरगञ्ज र तुल्सीपुरबाट खसीबोका ल्याइनेछ।