गोपाल जंग थापा/काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाममा गएराति परेको भारी वर्षा पछिको बाढी पहिरोबाट पीडितहरूको सहयोगार्थ सहयोग रकम सङ्कलन कार्य सुरु गरिएको छ ।
नेपाली काँग्रेस सुदूरपश्चिम कार्य समितिका सदस्य भक्त बहादुर ठकुल्लाको नेतृत्वमा शनिबारदेखि काठमाडौँमा सहयोग रकम सङ्कलनको काम सुरु गरिएको हो । पहिरोको वितण्डाले उठिबास लागेकाहरुको पिडामा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले रकम सङ्कलन गर्न सुरु गरेको काँग्रेस नेता समेत रहेका ठकुल्लाले बताए ।
उनले यो प्राकृतिक प्रकोपबाट परेको समस्या सबैको साझा भएकाले यस दुखद घट्नामा आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्नका लागि समेत आग्रह गरेका छन् । अछाम घर भई काठमाडौँमा रहेर विभिन्न पेशामा आबद्ध व्यक्तिहरूबाट शनिबार मात्र झन्डै ४३ हजार रुपैयाँ नगद सङ्कलन भएको सहयोग रकम सङ्कलन समितिका फोकल पर्सन लोकेन्द्र बुडथापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शुक्रवारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर अहिले सम्म २२ जनाले ज्यान गुमाएका छन् । पहिरोमा पुरिएर अझै केही जना बेपत्ता छन् । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकाका विभिन्न वडामा गएको पहिरोमा पुरिएर ११ जना घाइते भएका छन् । घाइते मध्ये गम्भीर घाइते ३ जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
उनीहरूलाई हेलिकोप्टर मार्फत सुर्खेत ल्याइएको हो । अन्य घाइते तीन जनाको अछाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाइते ५ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् । अविरल वर्षापछि अछाममा ठुलो जनधनको क्षति भएको छ । घट्नाको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।
बेपत्ताहरूको खोजी सँगै उद्धारको काम भइरहेकाले क्षतिको पुरा विवरण सङ्कलन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ ।