काठमाडौँ । प्रतिनिधि सभाको कार्यकाल सकिन ३ घण्टा बाँकी रहँदा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग समितिबाट बहुमतले पारित भएको छ ।
समितिले महाभियोग लगाउन सिफारिश गरेपनि प्रतिनिधि सभाको कार्यकाल आजै सकिन लागेका कारण समितिको प्रतिवेदन संसद सचिवालयमै थन्किने भएको छ ।
शनिवार राति साढे ८ बजे सम्पन्न समितिको बैठकले महाभियोग लगाउनु पर्ने सिफारिश बहुमतले पारित गरेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टी महाभियोगको पक्षमा हस्ताक्षर गरेका छन् ।
नेकपा एमालेले चोलेन्द्रलाई महाभियोग लगाउने प्रस्तावमा फरक मत राखेको छ । एमालेलाई लोसपाका सांसदले समर्थन गरेका छन् । समितिका ११ सदस्य मध्ये ६ जना पक्ष र ५ जना विपक्षमा उभिएपछि प्रतिवेदन बहुमतले पारित भएको हो ।