काठमाडौं। सर्वोच्च अदालत जाने तयारीपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासको गेटमा ताला लगाइएको छ।
जबराले आफू तयार भएर सर्वोच्च निस्कने बेला सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका हुन्। उनी आज ११ बजे सर्वोच्च पुग्ने तयारीमा थिए। तर, सरकारले गेटमा तालाबन्दी गरिदिएको उनको आरोप छ।
उनले भने, ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो। निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको छ।’
अहिले सर्वोच्च अदालत प्रवेशद्वारमा कार्यालय समयअघि नै व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए।
तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न आइतबार नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू सर्वोच्च अदालतको गेटमै धर्ना दिइरहेका छन्।
जबरालाई रोक्न सर्वोच्चको मूल गैटमै कार्यालय समअघि नै सुरक्षाकर्मी परिचालन गरिएको छ।
जबराविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।
महाअभियोग सिफारिस समितिले जबराको बयान लिएर शनिबार प्रतिवेदनसमेत तयार गरेर सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो।