काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचनबाटै कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन्।
लौहपुरूष गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिह फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले मौका पाउँदा संसद् विघटन गर्नेलाई भन्दा जनताले कांग्रेसलाई नै म्यान्डेट दिने उल्लेख गरे।
संविधानको सफल कार्यान्वयनका लागि आगामी मङ्सिर ४ गतेको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित निश्चित रहेको नेता सिंहको भनाइ छ।
स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा जनतामा अनुभूत हुनेगरी काम गर्नुपर्नेमा जोड दिँदै उनले सत्तागठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने जिकिर गरे।
उनले भने, ‘गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ। सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’
गणेशमान सिंहले देखाएको बाटामो हिड्न सकेमात्र लोकतन्त्र बलियो हुने उनले बताए।