काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ मा चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको र यस कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास लिएको बताएका छन्।
संविधान दिवसको अवसरमा सोमबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने कार्यमा सहयोग गर्न सबैसँग आग्रह पनि गरे।
प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचनले मुलुकमा एकातिर लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रूपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्दछ भने अर्कातिर यसले हाम्रो संविधानलाई चलायमान बनाउन र यसको जीवन्तता अभिवृद्धि गर्न सहयोग पुग्दछ, अब हुने चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ यस कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास लिएको छु।’
प्रधानमन्त्री देउवाले अबको गन्तव्य मुलुकको द्रुततर आर्थिक रूपान्तरण, सुशासनको सुदृढीकरण र जनताको जीवनस्तरमा सुधार ल्याउनु भएको बताए।
सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरूको विस्तार र सुदृढीकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको उनले बताए।