काठमाडौं। नेपालमा डेंगु सङ्क्रमणबाट २० जनाको मृत्यु भएको छ। विगत १८ दिनमा डेंगु सङ्क्रमण हुने सङ्ख्या ह्वात्तै बढेर झण्डै १२ हजार पुगेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य प्रमुख डा.गोकर्ण दाहलका अनुसार डेंगुको सङ्कमणबाट २० जनाको मृत्यु भएको छ। मृत्यु भएका ७ जना १४ वर्ष मुनीका बालबालिका रहेका छन्।
दाहलका अनुसार, हालसम्म ७५ जिल्लाबाट १६ हजार ५८७ जनामा डेंगु पुष्टि भइसकेको छ। यो वर्ष नेपालमा सङ्क्रमण जुलाईबाट बढ्दै गएको देखिन्छ। जुन महिनामा एक सय भन्दा तल रहेको सङ्क्रमणदर जुलाइमा बढेर ७२० पुगेको छ।
त्यस्तै, अगस्ट महिनामा तीन हजार ७०८ जनामा डेंगु पुष्टि भएको छ। सेप्टेम्बर महिना सुरु भएदेखि १८ दिनमा ११ हजार ९९४ जनामा डेंगु पुष्टि भएको पाइन्छ।
डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा १२ हजार ४०१ जनामा पुष्टि भएको छ। यस्तै, लुम्बिनीमा दुई हजार ४२२, प्रदेश १ मा ५०४, सुदूरपश्चिममा ४९३, गण्डकीमा ३२२, मधेश प्रदेशमा २४२ र कर्णाली प्रदेशमा २०३ जनामा डेंगु पुष्टि भएको छ।