धनगढी। सेती प्रादेशिक अस्पतालमा उपचाररत अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं लैजाने तयारी भएको छ ।
केसीको स्वास्थ्यमा जटिल खालको समस्या देखिएपछि स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले काठमाडौं लैजाने तयारी गरेको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार केसीलाई काठमाडौं लैजान गृह मन्त्रालयले नेपाली सेनाको स्काइ ट्रक पठाउने भएको छ। सोही ट्रकमार्फत उनलाई लगिनेछ।
९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात वटा माग राखेर आमरण अनसनमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको छ।
अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ। त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ।