काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संघीय संसदको अपमान र अवमूल्यन गरेको सत्ता गठबन्धनले आरोप लगाएको छ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि बसेको बसेको सत्ता गठबन्धन बैठकले विधेयक प्रमाणीकरण नगरेर संघीय संसदको अपमान र अवमूल्यन गरेको आरोप लगाएको हो।
राष्ट्रपतिले संविधानको संरक्षण र पालना गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि प्रहार गरेको गठबन्धनका शिर्ष नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता, लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको गठबन्धनको ठहर छ।
राष्ट्रपति भण्डारीले अरुको इसारामा संविधानमा नभएको अधिकारी प्रयोग गरेको, संविधानको अपमान गरेको बैठकले निष्कर्ष निकालेको छ।
राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर आएको नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। उक्त विधेयक प्रमाणीकरण गर्ने समससीमा मङ्गलवार मध्यराति सकिएको छ।
राष्ट्रपतिको कदमको संविधानविद् र गठबन्धनका नेताहरूले विरोध गरिरहँदा एमालेका नेताहरूले प्रशंसा गरिरहेका छन्।