काठमाडौं। नेकपा एमालेले हाल देशव्यापी रुपमा फैलिएको डेंगु रोगको कारण उत्पन्न स्वास्थ्य प्रकोपका बारेमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एमालेले डेंगु नियन्त्रण गर्न र सिटामोललगायतका औषधि पर्याप्त मात्रामा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।
नेकपा एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज एक विज्ञप्ति जारी गरी डेंगुका कारण आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको र यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो, त्यसमा सरकार चुकेको आरोप लगाएका छन्।
डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदाय स्तरको परिचालन गर्न, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारी÷गैरसरकारी निकायका बीचमा समन्वयात्मक परिचालन गर्न, सिटामोल लगायतका औषधीको सहज उपलब्धताका लागि राज्यसँग माग गरिएको छ।