काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे कानूनविद्हरुसँग परामर्श गर्ने भएका छन्।
त्यसका लागि प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा दिउँसो साढे ३ बजे परामर्शका लागि कानूनविदहरूलाई बोलाएका छन्।
राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर आएको नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। उक्त विधेयक प्रमाणीकरण गर्ने समससीमा मङ्गलवार मध्यराति सकिएको छ।
राष्ट्रपतिको कदमको संविधानविद् र गठबन्धनका नेताहरूले विरोध गरिरहँदा एमालेका नेताहरूले प्रशंसा गरिरहेका छन्।
बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिको कदमलाई व्यवस्थामाथि प्रहार र संसदको अपमान भएको ठहर गरेको छ।