काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उपराष्ट्रपति पुनले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका हुन्।
उपराष्ट्रपति पुनले संविधानको प्रमुख पालक र संरक्षकबाटै सचेतनापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भन्दै बृहद् जनआवाज उठिरहेकोप्रति दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति विद्यादेवी नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको आवाज उठिरहेका बेला उपराष्ट्रपति पुनले विज्ञप्ति प्रकाशन गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर आएको नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। उक्त विधेयक प्रमाणीकरण गर्ने समससीमा मङ्गलवार मध्यराति सकिएको छ।
राष्ट्रपतिको कदमको संविधानविद् र गठबन्धनका नेताहरूले विरोध गरिरहँदा एमालेका नेताहरूले प्रशंसा गरिरहेका छन्।
बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिको कदमलाई व्यवस्थामाथि प्रहार र संसदको अपमान भएको ठहर गरेको छ।