काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईमा काम गर्ने एक नेपाली युवाले ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन्।
केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बिकले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन्। उनले एक करोड दिराम अर्थात् ३५ करोडभन्दा धेरै नेपाली रुपैयाँको चिठ्ठा जितेको गल्फ न्यूजले जनाएको छ।
यो चिठ्ठा जित्नुअघिसम्म उनको दुबईमा बैंक खातासमेत थिएन। चिठ्ठाको रकम हातपारेपछि उनले भने, ‘म त निकै खुसी छु’ टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ।’
यो रकम भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्थाका लागि खर्च गर्ने जनाएका छन्।