काठमाडौं । पहिलोपटक अष्ट्रेलियाका दुई दर्जनभन्दा बढी हलमा नेपाली सिनेमा एक साथ प्रदर्शन हुने भएको छ।
यसअघि हल भाडामा लिएर नेपाली सिनेमा हेर्न पाइने अष्ट्रेलियामा यसपालि प्रदर्शन हुने प्रेमगीत-३ अंग्रेजी र हिन्दी सिनेमा जसरी हलको शो समयमै हेर्न पाइने भएको छ।
यसका लागि लामो समयदेखि प्रयासरत सिड्नी निवासी देव कार्कीले प्रेमगीत-३ मा आएर यो सफलता पाएको बताए।
अष्ट्रेलियामा नेपाली चलचित्रको प्रदर्शन र नेपाली सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएका कार्कीका अनुसार नेपाली र हिन्दी गरेर चलचित्र प्रेम गीत-३ ले पुरा अष्ट्रेलियामा दुई दर्जन भन्दा बढी हलहरू पाएको छ।
यो साता प्रेम गीत ३ का लागि हलको संख्या बढ्ने उनले बताए। नेपाली सिनेमाको उपस्थिति र वजन अब प्रवासमा रहने हामीहरूलेनै उठाउनुपर्ने उनी बताउँछन्।
सेप्टेम्बर २३ तारिख भोलि विश्वभर प्रदर्शनमा आउन लागेको चलचित्र प्रेमगीत -३ त्यसै दिनदेखि अष्ट्रेलियाको इभेन्ट सिनेमा, लाइम लाइट र भिलेज सिनेमामा हिन्दी र नेपाली गरेर दुई भाषामा नियमित प्रदर्शनमा आउने भएको छ