काठमाडौं। सत्तारूढ दल निकट विद्यार्थी संगठनहरूले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन्।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दल निकट विद्यार्थी संगठनहरूले बिहीबार बिहान काठमाडौंमा संयुक्त रूपमा प्रदर्शन गरेका हुन्।
कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुलगायतले संयुक्त रूपमा माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले नागरिकताविहीन भएकाहरूलाई नागरिकता प्रमाण पत्र दिन सरकारले विधेयक ल्याए पनि राष्ट्रपतिबाट रोक्ने काम हुँदा नागरिकताविहीन हुनेहरूका समस्या दिनप्रतिदिन झन् बढ्दै गइरहेको बताएका छन्।
राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर आएको नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। उक्त विधेयक प्रमाणीकरण गर्ने समससीमा मङ्गलवार मध्यराति सकिएको छ।
राष्ट्रपतिको कदमको संविधानविद् र गठबन्धनका नेताहरूले विरोध गरिरहँदा एमालेका नेताहरूले प्रशंसा गरिरहेका छन्।
बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिको कदमलाई व्यवस्थामाथि प्रहार र संसदको अपमान भएको ठहर गरेको छ।
पूर्व राष्ट्रपति डा.रामवरण यादव, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिको कदमको विरोध गरेका छन्।