काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान गर्नुलाई सत्ता गठबन्धनले महानता ठानेको आरोप लगाएका छन्।
बिहीबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको अपमान गर्नुलाई सत्ता गठबन्धनले महानता ठानेको आरोप लगाएका हुन्।
ओलीले अनधिकत मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम गरिरहेको बताए। ओलीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भनेर राष्ट्रपतिले पठाउँदा सत्ता गठबन्धनले जस्ताको तस्तै पारित गर्ने कुरा गर्नु ठीक नभएको बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको कदमको ओलीले बचाउ गरे।
ओलीले भने, ‘यो गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्छ। यो अहंकारी गठबन्धनले राष्ट्रपतिलाई विधेयकबारे कुनै जानकारी गराउँदैन। संविधानले अनिवार्यरुपमा जानकारी गराउनुपर्छ भन्छ। सरकारले कुनै पनि विधेयक ल्याउँदा संविधानको धारा १८१ अनुसार राष्ट्रपतिलाई जानकारी गराएको छैन। यो अहंकारी गठबन्धनले धारा १८१ को एक पटक पनि पालना गरेको छैन।’
संविधान र कानुनको पालना नगरेर गठबन्धन तानाशाही बाटोतर्फ अघि बढेकोले एमालेले प्रतिनिधिसभाको निर्वाचनबाट हटाउने दाबी ओलीको छ।
ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पनि बचाउ गरे। उनले भने, ‘गृहमन्त्रीको पदमा पुग्यो भन्दैमा मनपरी गर्ने? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, कुन कानुनले प्रधानन्यायाधीशलाई विना पक्राउ पूर्जी नजरबन्दमा राख्नुहुन्छ।’
उनले आफू सरकारमा हुँदा इनफ इज इनफको नारा लगाउनेहरु अहिले कता गए भनेर प्रश्न गरे ।
राष्ट्रपतिको विरोध
राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर आएको नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। उक्त विधेयक प्रमाणीकरण गर्ने समससीमा मङ्गलवार मध्यराति सकिएको छ।
राष्ट्रपतिको कदमको संविधानविद् र गठबन्धनका नेताहरूले विरोध गरिरहँदा एमालेका नेताहरूले प्रशंसा गरिरहेका छन्।
बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिको कदमलाई व्यवस्थामाथि प्रहार र संसदको अपमान भएको ठहर गरेको छ।
पूर्व राष्ट्रपति डा.रामवरण यादव, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिको कदमको विरोध गरेका छन्।