काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीविरुद्ध बिहीबार सर्वोच्चमा रिट परेको हो।
सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार अधिवक्ता सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट हालेका हुन्। दायर भएको उक्त रिट शुक्रबारका लागि पेसी तोकिएको छ।
राष्ट्रपतिको विरोध
राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर आएको नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। उक्त विधेयक प्रमाणीकरण गर्ने समससीमा मङ्गलवार मध्यराति सकिएको छ।
राष्ट्रपतिको कदमको संविधानविद् र गठबन्धनका नेताहरूले विरोध गरिरहँदा एमालेका नेताहरूले प्रशंसा गरिरहेका छन्।
बिहीबार एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको कदमको बचाउ गरेका थिए।
त्यसअघि बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिको कदमलाई व्यवस्थामाथि प्रहार र संसदको अपमान भएको ठहर गरेको छ।
पूर्व राष्ट्रपति डा.रामवरण यादव, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिको कदमको विरोध गरेका छन्।