बुटवल । डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीन जनाले ज्यान गुमाइसकेका छन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने सयौं संक्रमित अस्पतालमा भर्ना भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार पाल्पा, दाङ र बर्दियामा एकरएक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ ।
पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का ख्याहाका ५८ वर्षीय पुरूषको डेंगु संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । त्यस्तै भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीया महिलाको पनि डेंगु संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट भदौ २२ गते मृत्यु भएको थियो।
प्रदेश निर्देशनालयका प्रवक्ता पौडेलले लुम्बिनी प्रदेशमा अहिलेसम्म दुई हजार ६८३ जनामा डेंगुको संक्रमण भएको जानकारी दिए । भदौमा एक्कासि संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि डेंगु संक्रमितहरूको दैनिक भिड लाग्ने गरेको छ ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरूमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने गरेको निर्देशनालयले जनाएको छ । गत साउन मसान्तसम्म करिब ४०० जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा भदौमा मात्र २२ सयभन्दा बढी संक्रमित थपिएको प्रवक्ता पौडेलले बताए ।
तर, लुम्बिनी प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि भने अहिलेसम्म कुनै पनि बजेट विनियोजन गरेको छैन ।