धनगढी ।सेती प्रादेशिक अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट महिलाहरूको जटिल शल्यक्रिया भएको छ । प्रसूति केन्द्र काठमाण्डौंका डा. श्रीप्रसाद अधिकारी र शिक्षण अस्पतालमा कार्यरत प्राध्यापक डा. पदम राज पन्तको नेतृत्वको टोलीले शुक्रवार सेती प्रादेशिक अस्पतालमा दूरबिन प्रविधिबाट महिलाहरूको पाठेघरको अप्रशेन गरेको हो ।
सुदूरपश्चिम पहिलो पटक दूरबिन प्रविधिबाट महिलाहरूको पाठेघरको शल्यक्रिया गरिएको हो ।डा. अधिकारीले दुर्गम क्षेत्रमा गुणस्तरीय सेवा दिने नेपाल सरकारको लक्ष्य अनुसार सेती प्रादेशिक अस्पतालमा दूरबिन प्रविधिबाट महिलाहरूको पाठेघरको अप्रेशन सुरु गरिएको बताए ।
डा. अधिकारीले दूरबिन प्रविधिबाट शल्यक्रिया गर्दा चाँडो रिकभरी हुने, दुखाई कम हुने, घाउ सानो हुने, पछि हुने समस्या कम हुने बताए ।उनले अप्रेशन गर्दा दक्ष जनशक्ति र उपकरण बढी चाहिने हुँदा सबै स्थानमा दूरबिन प्रविधिबाट अप्रेशन सहज नहुने बताए ।
सेती प्रादेशिक अस्पतालमा दूरबिन विधिद्धारा महिलाहरूको पाठेघरको अप्रेशनको निरन्तरताका लागि प्रसूति गृह काठमाण्डौंमा सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूलाई एक र दुई महिनाको तालिमसँगै र एक वर्षको फेलोसिप मार्फत सीप हस्तान्तरण गर्ने योजना रहेको डा. अधिकारीले जानकारी दिए ।
मेडिकल सुपरीटेण्डेट डा. हेमराज पाण्डेयले सेती प्रादेशिक अस्पताल शुक्रवार पहिलो पटक दूरबिन प्रविधिबाट पाँच जना महिलाको पाठेघरको अप्रेशन गरिएको जानकारी दिए । सेती प्रादेशिक अस्पतालमा दूरवीन प्रविधिबाट शल्यक्रिया सेवा सुरु गर्न लामो समयदेखि अस्पतालका तर्फबाट गरिएको कोशिस शुक्रवार सफल भएको डा.पाण्डेयले सुनाए ।
मेडिकल सुपरीटेण्डेट पाण्डेयले दूरबिन प्रविधिबाट अप्रेशन गर्दा छिटो र सजिलो हुने भएकोले यसको निरन्तरताका लागि आवश्यक सहयोग गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गरे ।
सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरीटेण्डेट डा. गणेश बहादुर सिंहले आफूले ३० वर्ष सुदूर पश्चिमका जनताको स्वास्थ्योपचार गर्दा देखेका थुप्रै सपना मध्ये दूरबिन प्रविधिबाट शल्यक्रिया गर्ने एउटा सपना पुरा भएकोमा खुशी व्यक्त गरे ।
डा. सिंहले थुप्रै राम्रा कामको सुरुवात पहिलो र अन्तिम एकै पटक हुने भएकोले यसलाई निरन्तरता दिन आवश्यक भएको बताए । सेती प्रादेशिक अस्पतालको अप्रेशन थियटरमा शिक्षण अस्पतालका डा. पदम प्रसाद पन्तको नेतृत्वमा दूरबिन प्रविधिबाट अप्रेशन भइरहेको दृश्य अस्पतालको बैठक कक्षमा मेडिकल सुपरीटेण्डेट डा. पाण्डेय, पूर्व मेडिकल सुपरीटेण्डेट डा. सिंहले त्यसको प्रत्यक्ष रुपमा हेरिरहेका थिए ।