काठमाडौँ । विभिन्न ७ बुँदे माग राखी आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको हो । सहमति भएसँगै डा केसीले अनशन तोड्ने भएका छन् ।
कैलालीको धनगढीमा अनशन सुरु गरेका डा. केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उनले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए ।
वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा. केसीका तर्फबाट डा. जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन भएका थिए ।
७ बुँदे माग राखेर गत २७ भदौ २०७९ देखि उनले कैलालीको धनगढीस्थित श्रीकृष्ण मन्दिरमा अनशन सुरु गरेका थिए । स्वास्थ्य स्थिति जटिल भएपछि बुधबार उनलाई त्रिवि शिक्षण अस्पताल ल्याइएको हो । उनको यो २० औँ अनशन हो ।