काठमाडौँ । समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको आज भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ ।
उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीका अनुसार सञ्चार प्रतिष्ठानहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दशैँ भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन माग गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई महँगीलाई दृष्टिगत गर्दै पत्रकारको न्यूनतम मासिक पारिश्रमिक रु ४० हजार सिफारिस गर्न माग गरेको छ ।
साना लगानीमा सञ्चालित स्वरोजगारमूलक मिडियाको संरक्षणका लागि सबै सरोकारवालासँग छलफल गरी विशेष कार्ययोजना ल्याउन केन्द्रीय सरकार र प्रदेश सरकारलाई सुझाव दिएको छ ।
साना लगानीका सञ्चारमाध्यमलाई सहुलियतस्वरुप कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरालगायत सामग्री खरिद गर्न ५० प्रतिशत अनुदानको माग गर्दै भेलाले हाल पत्रपत्रिकालाई उपलब्ध गराइएको लोककल्याणकारी विज्ञापनवापतको रकम तत्काल शतप्रतिशत वृद्धि गर्न र अनलाइन मिडियालाई समेत लोककल्याणकारी विज्ञापन प्रदान गर्न आग्रह गरेको छ ।