काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको इन्टरपोलसँग डिफ्युजन नोटिस जारी गर्न आग्रह गरेपछि सोमवार नोटिस जारी भएको हो ।
डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध सबै देशले आफ्नो देशमा सन्दीप भए÷नभएको खोजी गर्नेछन् । हालसम्म इन्टरपोलमा १३५ देश आबद्ध छन् । इन्टरपोलमा आबद्ध देशमा सन्दीप रहेको भेटिएमा उनलाई लागेमा नेपाल पठाउने प्रक्रिया शुरु गर्ने बताइएको छ ।
सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी पर्दा केन्यामा रहेको सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनले सामाजिक सञ्जालमार्फत आफू चाँडै नेपाल आउने बताए पनि उनी हालसम्म स्वेदश फकिएका छैनन् । उनी सिंगापुरमा रहेको केही समयपहिले चर्चा भएको थियो । उनले नेपालबाट कानूनी सल्लाहका लागि एक कानून व्यवसायीलाई सिंगापुर बोलाएको चर्चा चलेको थियो । यद्यपि, त्यसको हालसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
उनले आइतवारमात्रै सामाजिक सञ्जालमा सन्देश लेख्दै आफू शारीरिक र मानसिक रुपमा समेत अस्वस्थ्य भएको भन्दै आराम गरिरहेको उल्लेख गरेका थिए । उनले आफू चाँडै नेपाल आउने बताएका थिए । उनले हाल आफू कहाँ छु भन्ने कुरा भने सन्देशमा खुलाएका थिएनन् ।