काठमाडौँ । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ। दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको आयोगले जनाएको छ ।
अब प्रतिनिधि सभातर्फ समानुपातिक मतपत्र छपाइ जारी राखिएको छ। जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ गरिएको हो। आयोगले करिब चार करोड मतपत्र छपाइ गर्दैछ। अहिलेसम्म प्रतिनिधि सभातर्फ करिब ६० लाख ६५ हजार मतपत्र छपाइ गरिसकिएको छ।
असोज २५ गतेभित्र यो काम सक्ने गरी मतपत्र छपाइलाई जारी राखेको थियो । असोज २३ मा आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन गर्दैछ।
आयोगले समानुपातिकतर्फ असोज २ र ३ गते दलहरूलाई बन्दसूची बुझाउन समय दिँदा ४८ दलले बन्दसूची बुझाएका थिए। अहिले दललाई आवश्यक संशोधन गर्न समय दिइएको छ। मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।