काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा गठबन्धनलाई सफल बनाउन नेताकार्यकर्तामा आह्वान गरेका छन् ।
ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा पत्रकार सम्मलेनमार्फत प्रवक्ता महतले पार्टीमा उत्पन्न पछिल्लो समसामयिक विषयको चर्चा गदैँ नेपाली कांग्रेसका उम्मेदवार एवम् गठबन्धनलाई सफल बनाउन एकताबद्ध भएर निर्वाचनमा होमिन आवश्यक रहेको बताए ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बन्ने उनले दाबी छ । प्रवक्ता महतले लोकतन्त्रलाई संस्थागत गर्दै स्वास्थ्य, शिक्षा, रोजगार र समृद्धिका मुद्दालाई कांग्रेस नेतृत्वको सरकारले अगाडि बढाउने बताए ।
आगामी निर्वाचन प्रक्रिया अघि बढेको भन्दै उनले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेश गरिएको र परिमार्जन गर्नुपर्ने समयसीमाबारे उल्लेख गरे । गठबन्धनमा सिट बाँडफाँट सम्पन्न गरिने बताउनुहुँदै उनले चाडपर्वसँगै प्रत्यक्षतर्फको उम्मेदवार छनोट एवम् निर्वाचन आयोगले व्यवस्था गरेको आचारसंहिताबारे ध्यानाकर्षण गराए ।
पार्टीमा उत्पन्न डा. शेखर कोइराला पक्षको विवाद सम्बन्धमा सञ्चारकर्मीहरुसँग प्रक्रिया दिँदै उनले पार्टीका पदाधिकरी, पूर्वपदाधिकारी, आमन्त्रित सदस्य र सातै प्रदेशका नेतागणसँग सल्लाह गरेर निर्णय गरिएको बताए।