काठमाडौं। डेंगी संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या ३६ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ११ गतेसम्म मृतकको संख्या ३६ पुगेको छ भने संक्रमितको संख्या २७ हजार ५६९ पुगेको छ।
हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा नौ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, ललितपुरमा ६ हजार ४९८ र भक्तपुरमा एक हजार ७६ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १७ हजार ७० पुगेको छ।
उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार ६९१ जनामा संक्रमण देखिएको छ। संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा काभ्रे, धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला रहेका छन्। यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या दुईसयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ।