काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण भएको छ।
बुधबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो। राप्रपा अध्यक्ष लिङ्देन र मिश्रले शंख र घण्टको ध्वनि बजाउँदै एकता घोषणापत्रमा हस्ताक्षर गरे।
घोषणापत्रमा नरम संवर्द्धनवादी धारलाई बलियो बनाउने, राजसंस्था पुनर्स्थापना तथा संघीयता र धर्मनिरपेक्षताको खारेजीको एजेन्डालाई पार्टीले अगाडि बढाउने उल्लेख छ।
अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता वरिष्ठ उपाध्यक्ष रहने गरी मिश्र राप्रपामा प्रवेश गरेका हुन्।
त्यस्तै, केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा केन्द्रीय समितिमा तहगत समायोजन लिङदेन र मिश्रबीच समझदारी अनुरूप हुने बताइएको छ। यो काम एकता घोषणा भएको ७ देखि १० दिनभित्र गरिने उल्लेख छ। यस्तै, प्रदेश तथा अन्य कमिटीको समायोजनका दुवै पक्षका दुई–दुई जना रहने गरी चार सदस्यीय समिति बनाइने छ।
मिश्रले स्थानीय तह चुनाव लगत्तै विवेकशील साझा पार्टीको अध्यक्ष र सोमबार साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए।
मिश्र काठमाडौं–१ बाट चुनाव लड्ने तयारी छन्। यसअघि उनी सोही क्षेत्रमा कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए।
यसपटक एमालेसँग तालमेल गरेर भए पनि मिश्र सांसद बन्ने तयारीमा छन्।
संघीयता र धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग गर्दै आएका मिश्र पछिल्लो समय राजतन्त्र पुनःस्थापनाको पक्षमा खुलेका छन्।