ऐतिहासिक कथामा आधारित चलचित्र नालापानीको ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी चलचित्र नालापानीको ट्रेलर सार्वजनिक गरिएको हो ।
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल–अंग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’को ट्रेलरमा देख्न सकिन्छ ।
ट्रेलरमा नालापानी गढीमा अंग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाईंलाई देखाइएको छ । २ मिनेट ४१ सेकेण्ड लम्बाइको ट्रेलरमा अंग्रेजसँगको लडाईंको क्रममा देखाइएका दृश्य वास्तविक लाग्छन् ।
ट्रेलर हेर्दा घमासान युद्ध र ऐतिहासिक कथावस्तुमा बनेका फिल्म मन पराउने दर्शकलाई ‘नालापानी’ले आकर्षित गर्नसक्ने देखिन्छ । तिहारको छेको पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन् । ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर फिल्म निर्माण गरेको बताए ।
फिल्मले नेपाली वीरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइ दिन पनि उनले फिल्म सम्बद्ध संघ–संस्था तथा राज्यसँग अपिल गरे । उनले ‘नालापानी’ एक युगमा एकपटक मात्र निर्माण हुने भएकाले दर्शकलाई एकपटक हेरिदिन पनि आग्रह गरे ।
कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले ट्रेलरका दृश्यहरू हेर्दा आफू पनि त्यो युद्धमा सिपाहीको रुपमा कतै लडार्इं लडिरहेको हो कि भन्ने महशुस भएको बताए । उनले राज्यले समेत विशेष चलचित्र भनेर उद्घोष गरिसकेको चलचित्रलाई एक हप्ता सोलोरुपमा चल्न दिनुपर्ने बताए । उनले आफ्नो भूगोल, संस्कृति, नेपाल र नेपालीलाई बचाउनको निम्ति वीर शहीदहरूले कुन हदसम्म लडाईं लडेका रहछन् भन्नेकुरा नालापानी चलचित्रबाट अहिलेको पुस्ताले पाठ सिक्न आवश्यक रहेको बताए ।
चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र’ पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा. डा. धनराज कुँवर, प्रा. डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा. डा. सुरेन्द्र केसी, पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग पटक पटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो ।
फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खड्का (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।
फिल्ममा भीएफएक्स अच्युत गजुरेल, छायांकन रामशरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ ।
राम भट्टराई र हरि उप्रेतिले रचना गरेका फिल्मका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । ‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सह–निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।