काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार आत्मसमर्पण गर्ने भएका छन्। उनले त्रिभुवन विमानस्थलमा प्रहरी समक्ष आफूलाई समर्पण गर्ने भएका हुन्।
प्रहरी कार्यालय गौशालाका प्रमुखलाई लेखेको पत्रमा लामिछानेले आफू देश बाहिर रहेको बेला दर्ता गरिएको मुद्दाका सन्दर्भमा प्रहरी समक्ष आत्मसमर्पण गर्ने निर्णय गरेका छन्। उनले आफूविरुद्ध लागेको अभियोगमा हुने अनुसन्धानमा हरेक किसिमले सहयोग गर्ने प्रतिवद्धतासँगै अनुसन्धान निकाय अनि त्यसको निष्पक्षतामा विश्वास व्यक्त गरेका छन्।
बिहान १० बजे विमानस्थल आइपुग्दा कानुन व्यवसायी सरोज घिमिरेको उपस्थितिका लागि पनि उनले प्रहरी समक्ष आग्रह गरेका छन्। ‘मेरो समर्पणका बेला मेरो सुरक्षाका हिसाबले म त्यहाँ मेरा कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थितिका लागि स्वीकृति चाहन्छु । मैले श्री घिमिरेलाई यसका लागि अनुरोध गरिसकेको छु’, उनले पत्रमा लेखेका छन्।
उनले आफूलाई विमानस्थलबाट प्रहरी कार्यालयमा सुरक्षित र बिना हतकडी लैजान पनि अनुरोध गरेका छन्। लामिछानेविरुद्ध एक नाबालिकाले आफूलाई बलात्कार गरेको आरोपमा प्रहरीमा अभियोग दर्ता गरेकी छिन्।