काठमाडौँ । नेकपा एमालेका नेता भीम रावल यो पटक टिकट पाउनबाट बञ्चित भएका छन् । १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावलले अछाम-१ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकट नपाएका हुन् ।
उनको ठाउँमा झपट बोहरा अब प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । एमालेका निर्णयअनुसार अछाम–१ मा प्रतिनिधिसभामा बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएका छन् ।
यस्तै अछाम–२ प्रतिनिधि सभातर्फ यज्ञ बोगटी तथा प्रदेश सभा भिम विष्ट र शिव उपाध्यायले टिकट पाएका छन् ।अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेपनि उनलाई पार्टीले टिकट दिएन । नेकपाको एकता बदर हुँदाताका माधव प्रचण्ड समूहमा रहेका रावल एमाले विभाजन भएपछि भने एमालेमै बसेका थिए ।
१० भाईले परिचित रावल लगायतका नेताहरु एमाले विभाजन भएर बनेको नेकपा एसमा गएका थिएनन् । एमालेमै फर्किएका १० मध्ये रावल, धनश्याम भुसाल र भीम आचार्यले १० औं महाधिवेशनमा अध्यक्ष ओलीको निर्णयविपरित उम्मेदवारी दिएका थिए ।