कृष्ण आचार्य, भरतपुर, १० - कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो। पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिको आवागमन बढेपछि विमानस्थल र मेघौलीको कायापलट हुने धेरैले अनुमान गरे। तर, त्यो तामझाम धेरै समय टिक्न सकेन।
सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो। त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित छैन।
विसं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जङ्गल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए। त्यसपछि मेघौली विमानस्थलमा नियमित उडान छैन।
विमानस्थल यतिबेला गौचरनमा परिणत हुने खतरा बढ्दै गएको भन्दै स्थानीयवासी चिन्तित बनेका छन्। भरतपुर महानगरपालिका–२७ का वडाध्यक्ष गोविन्द तामाङले टाइगरटप्स होटल बन्द भएपछि विमानस्थल अस्तव्यस्त बनेको बताए।
“विमानस्थल नियमित सञ्चालनका लागि विभिन्न निकायमा पहल भइरहेको छ,” तामाङले भने, “होटल व्यवसायी र वायुसेवाबीच तालमेल नमिलेका कारण पनि विमानस्थल सञ्चालन हुन सकेको छैन।” उनले भरतपुर विमानस्थल साँघुरो भइरहँदा त्यसको विकल्पमा मेघौली विमानस्थल भएको बताए।
राजनीतिक दलको चुनावी नारादेखि चितवनको पर्यटन प्रवर्द्धनका योजनामा जिल्लाको निकै पुरानो मेघौली विमानस्थल छुटेको हुँदैन। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोही क्षेत्रबाट चुनाव लडेपछि सो विमानस्थल नियमित हुने आशा स्थानीयवासीको थियो।
“विमानस्थल नियमित हुने छाँट छैन,” स्थानीयवासी दीपक थापामगरले भने, “कमिसनको खेलका कारण विमानस्थल सञ्चालन हुनसकेको छैन।” नेपाल एयरलाइन्सले यहाँबाट उडान भर्दा भरतपुर विमानस्थलभन्दा सस्तो भाडा छ तर पनि नियमित नभएको उनले गुनासो गरे।
“कुनै बेला मेघौली एयरपोर्टमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे। सबै जहाजमा टाइगरटप्स जङ्गल लजमा आउने खास गरेर विदेशी पाहुना नै हुने गर्दथे,” विगतको अनुभव सुनाउँदै थापामगर भन्छन्। उनले चितवनको दोस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको मेघौलीलाई नेपाल सरकारबाटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा नराखिनु विडम्बना भएको बताए।
सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ विगाह जमिनमा फैलिएको छ। विमानस्थलमा १ हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ। काठमाडौँबाट उडेको लगभग आधा घण्टामा विमान मेघौली पुग्छ।
भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले दैनिक एउटा विमान मेघौली विमानस्थलबाट सञ्चालन हुनसक्ने अवस्था रहे पनि विविध कारणले नियमिति सञ्चालन सम्भव नभएको बताए। “कहिलेकाहीँ ‘ग्रुप चार्टर’ हुने बेला भरतपुरबाट नै कर्मचारी गएर उडान भर्ने गरेका छन्,” उनले भने, “गत वर्ष यही समयमा नियमित उडान गर्ने भनेको विमानस्थलले यात्रु कम भएपछि बन्द गरेको हो।”
विमानस्थलमा होटल टाइगरटप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्तीपोलो खेलसमेत हुने गरेको थियो। अहिले मेघौलीमा हात्तीपोलो खेल पनि बन्द भएको छ। मेघौलीदेखि जगतपुरसम्मको क्षेत्रमा राम्रा र ठूला ५० बढी पर्यटकीय होटल छन्।
“यो क्षेत्रमा विदेशी पर्यटक लगातार आइरहेका छन्,” पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले भने, “हप्ताको ३ दिनमात्र सञ्चालन गरेका कारण नेपाल एयरलायन्सको विमान पनि नियमित हुन सकेन।” उनले सधैँ चर्चा भए पनि मेघौली विमानस्थलको स्तरोन्नति र नियमित उडानका लागि ठोस योजना बन्न नसकेको बताए।
पर्यटन वर्ष २०२० लाई सफल बनाउन पनि मेघौली विमानस्थल नियमित सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। नियमित उडान नहुँदा पर्यटक आगमनमा समेत प्रभाव परेको मेघौलीका पर्यटन व्यवसायी दिलीप पाण्डेको गुनासो छ। विमानस्थल नियमित भए चितवन आउने आधा पर्यटक मेघौली आउने उनले बताए।
नेपाल आउने विदेशी पर्यटकको २० प्रतिशत मात्र चितवन आउने गरेका छन्। पर्यटन वर्ष २०२० लाई लक्षित गरेर ३३ प्रतिशत पर्यटक चितवन भित्र्याउने लक्ष्य राखिएको छ।