काठमाडौँ । बालिका जबर्जस्ती करणी अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीले आगामी सोमबार म्याद थप गर्ने तयारी गरेको छ । त्यसलगत्तै प्रहरीले उनीसँग बयान लिनेछ र अनुसन्धानका बाँकी पक्षमा प्रहरी लाग्नेछ ।
सन्दीपले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसयता उनलाई प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा राखिएको छ । दसैँ बिदाका कारण उनीविरुद्ध प्रहरीले म्याद थप गर्न सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले २१ असोजबाट लागू हुने गरी सन्दीपविरुद्ध अदालतबाट म्याद थप गरिने बताए ।
१७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् । त्यसलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यसक्रममा प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज, बेडरुमको तन्ना, सिरक, घटना हुँदाको बखत बेडमा प्रयोग भएको डस्टबिन, घटना हुँदा पीडितले लगाएको कपडा, पीडितको भजाइना परीक्षण, सिडिआर (कल डिटेल रिपोर्ट), सामाजिक सञ्जाललगायतका सामग्री संकलन गरिसकेको छ ।
मुलुकी अपराध संहिता ऐन–०७४ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेविरुद्ध थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरी वृत्त गौशालाले जिल्ला अदालत काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो । सोही निवेदनपछि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।