काठमाडौँ । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ ।
भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ ।
दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाईने महाशाखाले जनाएको छ। ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो ।
‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिन्छ ।महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभिभावकलाई आग्रह गरेको छ ।
महाशाखाका निर्देशक डा. विवेक कुमार लालले कार्यक्रम सञ्चालनका लागि सहयोग तथा प्रचार प्रसारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिदिन समेत अनुरोध गरेका छन् ।महाशाखाले अभियान बारे प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत जानकारी गराइसकेको बताएको छ ।