काठमाडौं। निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुने भए पनि स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिह्न प्रदान गरेको हो।
कसले के पाए चिह्न ?
नेकपा एमाले परित्याग गरी रूपन्देही–१ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले त्रिभुज चुनाव चिह्न पाएका छन्।
नेकपा (एमाले)ले टिकट दिए पनि रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले चापाकल (पानी तान्ने कल) चुनाव चिह्न पाएका छन्।
चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्दीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन्।
यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेलले सूर्यमुखी फूल चुनाव चिह्न पाएका छन् ।
एमालेबाट निष्कासित गंगा चौधरीले चुनाव चिह्न लौरो पाएकी छन्।
तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले कैंची चुनाव चिह्न पाएका छन्।
चितवन–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले पनि माछा चिह्न पाएका छन्।
झापा–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चिह्न पाएका छन्।
लेखन तथा अभियन्ताको छवि बनाएका पाठक एमाले अध्यक्ष केपी ओलीविरुद्ध पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले चुनाव चिह्न माछा पाएका छन्।
काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले सेल रोटी चुनाव चिह्न पाएकी छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा तेस्रो स्थान प्राप्त गरेकी रञ्जु राजनीतिसँगै सेल रोटीको व्यवसायमा समेत संलग्न छन्।