वीरगञ्ज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनताले कामको मूल्याङ्कन गर्ने भएका कारण आफ्नो जित निश्चित भएको दाबी गरेका छन् ।
पर्सा–१ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवले पाँच वर्ष सांसदका रूपमा क्षेत्रको विकास र समृद्धिको लागि गरेको कामको मूल्याङ्कन जनताले गर्ने भएको हुनाले आफ्नो जित निश्चित भएको दाबी गरेका हुन् ।
जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार यादवले भने,‘मतदाताका बिचमा जाँदा पाइरहेको अपार समर्थन र उत्साह देख्दा पर्सा–१ मा मेरो प्रतिस्पर्धी कोही पनि देखिएको छैन, मतदाताले पुन मलाइ नै विजयी बनाउँछन् भन्नेमा म ढुक्क छु ।’
पाँच वर्ष सांसदका रूपमा मैले क्षेत्रको विकासका लागि हरेक सम्भव काम गरेको र जनताको आवश्यकता तथा चाहना अनुसार सडकदेखि नाला, पुल, विद्यालय, टावर लाइट, धर्मशाला, मन्दिर, मस्जिद निर्माण गरेर क्षेत्रवासीलाई विकास र समृद्धि तर्फ अगाडि लिएर गएकोले यसको मूल्याङ्कन गरेर जनताले आफूलाई जिताउने उनको विश्वास छ ।
क्षेत्रवासी जसपाको निर्वाचन चिन्ह छाता छापमा मतदान गर्न आतुर रहेको बताउँदै यादवले भने, ‘सांसद जितेदेखी जनताकै बिचमा छु , क्षेत्रमा हरेक हप्तामा पुग्ने गरेको छु , जनताको दुःख र सुखको सारथि बनेर सँगसँगै हिँडेको छु, यसको मूल्याङ्कन जनताले गर्नेछन् ।’
पर्सा १ मा चुनाव लडेका अरू उम्मेदवारहरू मध्ये कोही टुरिष्ट त कोही जनताले पटक पटक अस्वीकृत गरिसकेका नेताहरू रहेकाले जनताको भरोसा उनीहरू माथि नभएको पनि उनले बताए । ‘जनताले विकास प्रेमी , सुखदुस्खमा साथ दिने जनप्रतिनिधि चाहन्छन्, त्यसका कारण पर्सा १ का मतदाता जसपाको चुनाव चिन्ह छाता छापमा मतदान गर्न आतुर छन्,’ यादवले भने ।