काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ। नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।
गत सोमवार असोज २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो। २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए।