काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज गृह मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन्।
भेटमा उनीहरुबीच नेपाल–भारत बीचको आपसी सम्बन्ध र सहयोग आदान–प्रदानबारे छलफल भएको छ।
भारतीय राजदूत श्रीवास्तवले भेटमा आगामी मङ्सिर ४ गते निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्री खाणलाई शुभकामना दिए।
गृहमन्त्री खाणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताए। उनले नेपाल र भारतबीच सदियौँदेखि नागरिकस्तरमा सम्बन्ध रहेकाले त्यो सम्बन्ध अझ दिगो हुने विश्वास व्यक्त गरे।
गृहमन्त्री खाणसँग यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार बिदाइ भेट गरेका थिए।
बिहीबार गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध, सहयोग आदान–प्रदानलगायतका विषयमा कुराकानी भएको बताइएको छ।
गृहमन्त्री खाणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए। ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाणलेभने, ‘नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ। छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ।’
उनले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताए।
त्यस्तै गृहमन्त्री खाणले राजदूत यान्छीको कार्यकालमा भएको चिनियाँ राष्ट्रपति सि चिनफिङ, चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुलगाययत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणले नेपाल चीन सम्बन्धलाई अझै सुदृढ बनाएको बताए।
राजदूत यान्छीले चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर नयाँ महत्वपूर्ण जिम्मेवारीका लागि जान लागेकोमा शुभकामना व्यक्त गरे। स्वदेश फर्किएपछि पनि यान्छीले नेपाल चीन सम्बन्ध प्रगाढ बनाउन र नेपालको विकास र समृद्धि, सदभाव र सहयोग, पर्यटनको विकासमा चिनियाँ नागरिकहरूलाई नेपाल भ्रमणमा प्रेरित गर्न निरन्तर भूमिका खेलिरहने विश्वास गृहमन्त्री खाणले व्यक्त गरे।
राजदूत यान्छीले नेपालको विकास र प्रगतिका लागि चीनले सदैव सदभाव र सहयोगका साथसाथै शुभकामना व्यक्त गरिरहेको बताइन्। पर्यटन विकासका लागि नेपाल भ्रमण आउने वातावरण चिनियाँ सरकारले मिलाउने र आफूले व्यक्तिगत रूपमा नेपालको भौगालिका, सामाजिक र सास्कृतिक विविधता तथा नेपालीको पर्यटक र पाहुनाप्रतिको सदभावबारे आफ्ना चिनियाँ साथी र जनतासम्म विचार राख्ने यान्छीले बताइन्।
खाण गृहमन्त्री भएपछि चीन–नेपाल सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिकाको सराहना गर्दै राजदूत यान्छीले चीनको सुरक्षा संवेदनशीलतालाई गम्भीररूपमा लिएकोमा धन्यवाद व्यक्त गरिन्।
मंसिर चार गते निधारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्रीलाई सफलता मिलोस् भन्ने शुभकामना चीन सरकारका तर्फबाट राजदूत यान्छीले दिइन्। आफू जुनसुकै जिम्मेबारीमा जहाँ रहे पनि नेपालबाट प्राप्त सम्मान र सदभावलाई सदैव सम्झिरहने यान्छीले बताइन्।