पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा जारी महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ। गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो।
भलिबलप्रेमी दर्शकको भीडबीच भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि २५–१८, २५–०८ र २५–२२ को जित निकालेको थियो। गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिईन् भने सुदूरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले गरेकी थिईन्।
महिला भलिबलमा ७ प्रदेश‚ ३ विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहभागिता रहेको छ। शुक्रबार महिला भलिबलअन्तर्गत ३ खेल हुनेछन्।
असोज २८ गते शुक्रबार बिहान ८ बजे समूह १ को सशस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समूह २ को बागमती र प्रदेश १ बीच र दिउँसो २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच हुने महिला भलिबल प्रतियोगिताका संयोजक यामबहादुर गुरुङले जानकारी दिए।
महिला भलिबल र तेक्वान्दोको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका थिए। खेलाडीको स्वागतमा बेनी बजारमा बाजागाजा, झाँकीसहितको र्याली निकालिएको थियो।