काठमाडौं। नेपालमा डेंगु सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)का अनुसार नेपालमा ४७ जनामा डेंगु सङ्क्रमितको मृत्यु भएको हो।
इडिसीडीका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार नेपालमा सात प्रदेशका ७७ वटा जिल्लामा ३८ हजार ९१८ जनामा डेंगु पुष्टि भैसकेको छ।
डेंगुको प्रकोप पहाडी जिल्लामा घट्दै गए पनि तराईका जिल्लामा भने प्रकोप बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरुको भनाइ छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक तथा जनस्वास्थ्यविज्ञ डा.बाबुराम मरासिनीले पहाडी र हिमाली जिल्लामा बिस्तारै डेंगु संक्रमित घट्दै गए पनि तराईका जिल्लामा प्रकोप बढ्न सक्ने बताए।
उनका अनुसार जाडो बढ्न सुरु भएसँगै काठमाडौंलगायत पहाडी भेगमा डेंगु संक्रमण कम हुँदै जाने र बिस्तारै तराईका जिल्लामा संक्रमण बढ्न सक्छ।