तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताएका छन्।
आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताए।
गाउँमै रोजगारी र गाउँमै आम्दानी सिर्जना हुने वातावरण बनाइने जानकारी गराउँदै आफूले सोही लक्ष्य लिएर राजनीति सुरु गरेको नेता पौडेलले उल्लेख गरे।
तनहुँले विकासमा काँचुली फेर्ने जिकिर गर्दै वरिष्ठ नेता पौडेलले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि यो समयमा मात्र तनहुँमा रु दुई अर्बभन्दा बढी बजेट आएको र यसले निरन्तरता पनि पाउने उल्लेख गरे। सडक, पुल, खानेपानीको विकासले तीव्रता पाएको र कषि तथा पर्यटनमा पनि क्रान्ति हुँदै गएको उनले उल्लेख गरे।