काठमाडौं। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थप गर्ने निणर्य गरेको छ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिम दुवै आयोगको कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउने आदेश जारी गरेको छ। आदेशसँगै दुवै आयोगको कार्यावधि आगामी २०८० असार मसान्तसम्म थप भएको छ।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिम सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यावधि २०८० असार मसान्तसम्म थप गर्ने बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निणर्य गरेको जानकारी दिए।
बैठकले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ।
यसअघि सरकारले ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यान, मदिराको आयात प्रतिबन्ध गरेको थियो। अब सो प्रतिबन्ध मंसिरसम्मका लागि यथावत राख्ने निर्णय भएको छ।
सरकारले विदेशी लगानीको न्युनतम सीमा प्रतिविदेशी लगानी कर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ।