काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि निर्वाचन आयोगले कल सेन्टर संचालनमा ल्याएको छ । कल सेन्टरबाट सेवा लिनका लागि निःशुल्क ११०२ टोल फ्रि नम्बरको पनि व्यवस्था गरिएको आयोगले जनाएको छ ।
शुक्रबार आयोगको कार्यालय कान्तिपथमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिन सेवा उद्घाटन गर्दै त्यसबाट भरपुर लाभ लिनका लागि सबैलाई आग्रह गरे ।
त्यस अवरमा उनले आयोग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा केन्द्रित रहेको जानकारीसमेत दिए ।
कल सेन्टरमा निर्वाचनसम्बन्धि सबै जिज्ञासाहरु सम्बोधन हुने गरी आवश्यक जनशक्तिको पनि व्यवस्थापन गरिएको निर्वाचन आयोगले जनाएको छ ।