काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारदेखि औपचारिकरुपमा सुरु भएको छ। शुक्रबार पोखरा रङ्गशालामा आयोजित विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन गरिएको हो।
उद्घाटनमा विभिन्न प्रदेशले मार्चपास गरेको थियो भने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। कोभिड महामारीलगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद आयोजना गरिएको हो। गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो।
यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो। नवौंको अधिकांश खेलहरु पोखरा रंगशालामा आयोजना गरिएको छ। पुरुष क्रिक्रेटका खेल भने यसअघि नै काठमाडौंमा सम्पन्न भइसकेको छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।
यसपटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाएका छन्। यसपटक ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।