काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको थियो।
राष्ट्रपति भण्डारी र प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष जोशीको निधनले अत्यन्त दुःखी बनाएको र बितेको र शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको उल्लेख गरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न गरेको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहनुका साथै १०३ वर्षको उमेरमा पनि सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्पे्ररणाको श्रोत बनेर रहने बताएका छन्।
नेपाल सरकार र नेपाली जनताले जोशीको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने प्रचण्डले बताएका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ जोशीको निधनले स्तब्ध बनाएको बताएका छन्।
नेपाली वाङ्मयका अविच्छिन्न साधक शताब्दी पुरुष जोशीको निधन प्रति राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले दुःख व्यक्त गरेका छन्।
अध्यक्ष तिमल्सिनाले जोशीको निधनले देशले एउटा जीवित इतिहास गुमाएको बताएका छन्। तिमल्सिनाले फेसबुकमार्फत दिवङ्गत शताब्दी पुरुषप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए।
शताब्दी पुरुषको आज बिहान ७ः०९ बजे निधन भएको उनको उपचारमा संलग्न डा सुरज बज्राचार्यले जानकारी दिए। अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो।